विवश मेरा अस्तित्व र स्वाभिमानहरु ! January 7, 2007
Posted by rajendra in आफ्नै कुरा, साहित्य तथा कला.trackback
- राजेन्द्र श्रेष्ठ, गोरखा
म आफूलाइ शतप्रतिशत स्वस्थ मनस्थितिमा छु भन्ने ठानिरहेको छु । मैले लिने हरेक निर्णयहरु राम्रैसंग अवगत छ । म आफ्ना तन्दुरुस्त शरीर लिएर जहाँ पनि पुग्न सक्छु, जसलाई पनि भेट्न सक्छु । मेरो विचारहरुलाइ कुनै पनि समय र स्थानमा प्रस्फुटन गराउन सक्छु । को आफन्त, को अन्यत्र, को मित्र, को शत्रु, सवै राम्रैसंग थाहा छ मलाइ । हाँस्नु के हो ? रुनु के हो ? त्यो पनि वुझ्छु म । जन्मनुको परिभाषा मृत्युको औचित्य त्यो पनि त व्याख्या गर्न सक्छु । वास्तवमा म मानव नै हुँ । एउटा सामान्य मानव । वाटोमा हिंडिरहेको हुन्छु । वरिपरिवाट खासखुस आवाजहरु आएर ठोकिन्छ मेरा कानहरुमा । आवाजहरु सुन्नु नै झस्कनु चैं होइन तर म झस्किरहेको हुन्छु, ती आवाजहरु तिर कान फर्काइरहेको हुन्छु, विवश भएर अनि निर्वल र निर्लज भएर । रुन त मिलेन धुरु धुरु, हाँस्न झनै सक्दै सकिन । ठिङ्ग उभिन सकिन, ढ्याङ्ग ढल्न पनि भएन । सुस्तरी लागें आफनै गन्तव्यतिर, भुल्न दिइन आफूलाई ति खासखुस आवाजतिर । निरन्तर ठोक्किए आवाजहरु वाटै भरि, गह्रौं टाउको लिएर ढल्न पुगें ओछ्यानमा । मेरो मस्तिष्क कुमालेको चक्रसरी घुम्न थाल्यो । किन दुनियाँ देखिरहेछ म मा पागलपन ? किन चिच्याइ रहेछ दुनियाँ लहलहैमा ? ढोकाको ढकढक आवाज, एक जना मित्रको म माथिको सम्वोधनले म जुरुक्क ओछ्यानवाट ढोकाको चुकुलसम्म हात पुर्याइ सक्छु । मित्रसंगको मित्रतालाई हात मिलाएर स्वागत गर्छु । “तँलाइ सन्चै त छ ? कुनै समस्या छ कि ? निहाउँरो देख्छु नि के भयो तलाइ ?” उसका यी सामान्य प्रश्नहरु किन किन असामान्य लाग्छ मलार्इ तापनि जवाफ दिन्छु, “आरामै छु सवै ठिकै छ ।” वाटाका खासखुसहरुलाई मित्रको प्रश्नहरुसंगै दाँजेर हेर्छु। रिगंटा लाग्छ । भित्ताको आड लिएर कुर्चीमाथि थचक्क थचार्छु आफूलाई । मित्रले असहज तरीकाले मलाई निहालिरहेको भान हुन्छ तैपनि आफूलाई समालिरहेको हुन्छु । मध्य रात, टाढा टाढा कुकुरको एकहोरो भुकाई, चन्द्रमाको शान्त र निश्चल प्रकाश, शान्त सडक म निदाउँन सकिरहेको छुइन । मेरा नयनहरु लजाएको छैन निद्रा देवीको अगाडि । मान्छेको चहल पहल, चराचुरुङ्गीको चिरविर, मोटरको आवाज, रविले आफ्नो छवि देखाई पो सकेछ । हिड्छु दैनिक कर्मका लागि, उही खासखुस, उही आवाजहरु वाटाभरी, कार्यालय आइ पुगी सकिएछ । कता कता महसुस हुन्छ असामान्य वातावरण त्यहाँ छ । उही वाटोभरीका खासखुसहरु यहाँ पनि प्रसार भइसकेछ । म हरेक कुरालाई असहज देख्दैछु । केही दिन, केही रात वित्छ । खासखुसहरु हटेर स्पष्ट शब्दहरु नै सुनिन थाल्छ । कार्यालय पुग्छु, हातमा अवकाशको उपहार मिल्छ । उक्त उपहारको औचित्य बुझ्न चाहेर पनि किन हो किन जिब्रो नै फट्केन । म अन्यौलमा छु, आत्तिएको भने छैन । मलाई आत्माविश्वास छ, म अरुहरुले भने जस्तै छुइन र हुन पनि सक्दिन । थाहा भयो म त अरुहरुको नजरमा पागल भैसकेछु, वौलाह भैसकेछु। कतिलाई स्पष्ट पारुँ कि म पागल होइन भनेर कसरी प्रमाणित गरुँ कि म एकदम स्वस्थ छु भनेर । मैले आफ्नो अस्थिर मानसपटललाई फनफनी घुमाएँ । किन ? कसरी ? र के का लागि ? यी अपवाहहरु फैलिए, जसले मेरो सुन्दर जीवनलाई नाश गरिरहेछ । मिठा कल्पनाहरु र चाहनाहरुलाई भताभुङ्गु, ध्वस्त र भष्म गरिरहेछ । यथार्थ ठम्याउनै सकिन ।प्रकाशको तरंग जस्तै विस्तारित भए म विरुद्धको असत्यता, अन्याय र अविश्वास । लाग्छ दुनियाँ सवै म र मेरो अस्तित्व ध्वस्त गर्न लागि परिरहेका छन् । मेरा हरेक शब्द तथा वाक्यहरुलाई असहज ठानिरहेका छन् सवै । म आफ्ना प्रतिक्रियाहरु जनाउँछु, आफ्ना वाध्यताहरु आफन्तहरुको सामु प्रस्तुत गर्छु तर सवै खेरा जान्छन् । मेरा प्रतिक्रियाहरुमा पनि उनीहरु पागलपन नै देख्छन् । “थाहा छ तपाईंलाई त्यो मान्छे पागल भएको छ रे नि ? के पर्यो होला हैं त्यस्तो, जसले गर्दा पागल हुन पुग्यो ।” हो, यस्तै यस्तै शब्दहरुले मेरो सहनशिलता र धैर्यताहरु टुक्रा टुक्रा गरी टुटायो, फुटायो र अन्तमा सवैवाट मलाई पागल नै घोषित गरियो, वौलाह नै वनाइयो । मानसिक तनाव, कान विझाँउने शब्दहरु, दुनियाँका म माथिको दुष्टिकोण, अरुहरुले म माथि गर्ने व्यवहारले म दिक्क भईसकेको छु । म रिसालु वन्दै गएँ, धर्यहिन अनि अस्थिर पनि । आफन्तहरु र समाजलाई झनै वाटो मिल्यो मलाई पागल प्रमाणित गर्न । आत्महत्या गर्ने विचार नउब्जिएको पनि होइन ममा तर कायरताको संज्ञा ग्रहण गर्न पनि चाहिँन । वरिपरि हल्ला खल्ला, पाँच सात जना आफन्तहरुको आगमन, ट्याक्सीको हर्न, म झस्किन्छु। आफन्तहरुको मुखवाट निस्केको वाक्यहरुको प्रतिवाद गर्न हम्मे हम्मे परिरहेको छ मलाई । “चिन्ता नलिनुस्, उपचार गरेपछि सवै ठिक ठाक हुन्छ । १५/२० दिन त हो अस्पतालमा वस्नु पर्नेे । हिड्नुस् जाउँ अस्पताल ।” एक जना शुभचिन्तक भनाउँदो आफन्तको कुरालाई प्रतिवाद गर्ने म मा अव सामर्थ्र्य रहेन । दुई जनाले पाखुरामा समाएर कोचे मलाई ट्याक्सी भित्र । मेरो स्वाभिमान र अस्तित्वलाई यस्तो खाडलमा कोचियो जहाँवाट उठ्न मलाई साह्रै कठिन हुनेछ । छर(छिमेकीहरु सबैले मलाई उत्सुक भएर चिहाए झैं लाग्यो जसरी कुनै लासलाई घाटमा लान तयार गरिदै छ । ती हेराई प्रति म मुरमुरी रहेको छु । म सवैका लागि रमिते भएको छु । यस्तो लागी रहेछ, म कुनै सकर्सको खेलमा प्रस्तुत गरिने जनावर हुँ । हुने भए सवैलाई वेसरी पिटुँ जस्तो लाग्यो । त्यसपछि मलाई पागल वनाउने दुनियाँ लाई पछाडी तिर धकल्दै हुइँकियो ट्याक्सी अस्पतालतिर, मेरो विचार र आस्थालाई भताभुङ्ग अनि खरानी पार्दै । नयनभरि समुद्र छचकल्दै थियो मेरो । साह्रो र गाह्रो वन्धनमा वाधिँएर म अस्पताल पुर्याइएँ । विवश मान्छे जानेर तथा चाहेर पनि के नै गर्न पो सक्थें र । निर्जीव वस्तु जसले आफना विचार व्यक्त गर्न सक्दैन, हो त्यस्तै विवश र निर्जीव वनिसकेको थिएँ । पागलै पागलको वीचमा म अब भने पागल जस्तै भइसकेको छु । म सज्जन छु भनेर प्रमाणित गर्नेे शक्ति ममा भरिएन । मैले आफू स्वतन्त्र भएर वाँच्न पाउने अधिकार पनि गुमाई सकेको थिएँ । उपचारको वहानामा पाएको यातना खै कसरी व्यक्त गर्न सक्छु र । लामा लामा दाह्री, फोस्रो कपाल, ऐनामा मैले आफूलाई कुनै पागल भन्दा फरक पाईन । म जस्तै हल्लै हल्लामा वनेका पागलहरुको पीडा दुनियाँलाई के थाहा ? उनीहरु त हल्ला गर्न पाएकोमा गर्भ मात्रै गर्न सक्छन्, खुसी मनाउन सक्छन् । कलम समाएर शिक्षाको ज्योति छर्न पल्केको मेरो आवाज निशब्द वनेको छ । पागलै पागलको वीचमा वसेर आफूलाई सज्जन वनाउन निकै कठिन भइरहेको छ मलाई । नेपथ्यवाट आउने कोलाहल, अस्वाभाविक क्रियाकलापहरुले मेरा स्नायू प्रणालीलाई निष्क्रय पार्छ कि भन्ने त्रासमा दिन र रातका पलपललाई गन्दै समय कटाइ रहेको छु । ढोका र झ्यालहरुवाट दुनियाँ मलाई देखेर खित्का छाडेको आभास पाउँछु । त्यस नरकवाट निस्कने प्रतिक्षामा आफ्नो शरीरलाई खुक्र्याउँदै गइरहेको छु ।
अहिले शिथिल र शक्तिहिन भएर आराम गर्ने वहानामा एक्लै आफूलाइ जीउँदो बनाउने कोशिशमा छु । मेरा निधारभरी पसिनाको चिट्चिटावहटले भरिएको छ । एउटा स्वतन्त्र मानिसको जीवनसंग खेलवाड गर्नेे अधिकार यो समाजलाई कहाँवाट प्राप्त भयो ? म आफू भित्रै मुरमुरी रहेको छु । आफै देखि घृणित छु कि म यहि समाजको एक सदस्यमा गनिएको छु ।म मानसिक अस्पतालवाट भर्खर भर्खर घर फर्कको हुँ । केही सुस्ताएको छु । आफूलाई पहिले जस्तै स्वस्थ र स्फुर्त महसुस गर्न नसके पनि दुनियाँको नजरमा पागल पछिको स्वस्थ बन्दै गईरहेको मान्छे ठहरिएको छु । आफ्नो ह्दयलाई खै कसरी वसमा राख्न सक्छु र ? मेरो सुन्दर जीवनमा पोतिएको यो पागलरुपी कालो दाग समाजको नजरमा के मेटिएला ? सम्भावनाको कुनै रेखा नै मैले देखेको छुइन । मेरो मानसपटल स्वभाविक रुपमा विगततिर रगडि नै रहेको छ । जुन घटनाक्रमलाई म भुल्नै सकिरहेको छुर्इन । सकुँ पनि कसरी ? साथीभाइसंग हाँसो ठट्टा गरेको त्यो क्षण, घर परिवार र आफन्तहरुसंगको त्यो सुमधुरता, मुस्कुराउँदै हिड्ने गरेका ती पलहरु, प्रकृतिसंग रमाएका यी नयनहरु, जे पनि सम्भव देख्ने साहस, मवाट सायद सधैको लागि क्षितिजमा टाढिएको छ, नफर्कने गरी अनि नभेट्ने गरी । म भित्रको अस्तित्व र स्वाभिमान अनि मैले सुरक्षित राखेका इज्जतहरु कहिल्यै पनि नविउँझिने गरी निधाँएको छ । अर्थहिन जीन्दगी लिएर खै किन ? के का लागि ? पृथ्वीमा भार वनी अड्किरहेको छ सायद जवाफ खोज्दै होला विवशतामा अल्झिएका मेरा अस्तित्व र स्वाभिमानहरु ।
(मैलें लेखेको यो पहिलो कथा हो । कुनै एउटा नाम नचलेको पुस्तकमा यो आजभन्दा ५ बर्ष अगाडि प्रकाशित भएको थियो । कम्तीमा २०० जनाले पढेको अनुमान गरेको छु । प्रतिक्रियाहरु पनि प्राप्त भएका थिए । प्रायजसोले मन पराएको पाएको थिएँ । केही पाठकहरुले यो कथा नभएर मनोवाद जस्तो भयो भन्नुभएको थियो । मलाई के लाग्छ भने शैली मनोवाद जस्तो भए पनि यो कथा हो भन्ने म ठान्दछु । आशा छ यहाँहरुको पनि प्रतिक्रियाहरु प्राप्त हुनेछन् । मेरा अरु कथाहरु क्रमशः राख्दै जानेछु ।)



राजेन्द्रजी,
राम्रै छ । यसलाइ कथा भन्दा फरक पर्दैन । अभिब्यक्ति पनि ठिकै छ । अलि शब्द संयोजनलाई ध्यान दिएमा अझ राम्रो हुन्छ । राम्रो कथाकार भन्ने खुबी रहेछ, बधाई छ !
malai raamro laagyo lekhney shaili.
nice, you have a quality of being a good writer. keep it on man.